नियम ६०
पुनरावेदनपत्र दर्ता
(१) न्याय प्रशासन ऐन, २०७३ को दफा ९ वा अन्य प्रचलित कानून बमोजिम अदालतमा पुनरावेदन लाग्ने मुद्दामा तल्लो तहको फैसलामा चित्त नबुझ्ने व्यक्तिले पुनरावेदन गर्न चाहेमा अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–४ बमोजिमको ढाँचामा सम्बन्धित अधिकारी समक्ष पुनरावेदनपत्र दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको पुनरावेदनपत्रमा पुनरावेदकले नियम १३ मा उल्लिखित कुराहरूका अतिरिक्त फैसलामा चित्त नबुझेका कुराहरू, त्यसको कारण र पुनरावेदनमा माग गरेको कुरा खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दिएको पुनरावेदनपत्र जाँच गर्दा देहायको रीत पुगेको देखिएमा सम्बन्धित अधिकारीले उक्त पुनरावेदनपत्र दर्ता गर्नेछः-
(क)  पुनरावेदनपत्रमा खुलाउनु पर्ने कुरा खुलाएको,
(ख)  पुनरावेदन गर्ने म्यादभित्र पेस गरेको,
(ग) आवश्यक प्रमाण कागज संलग्न गरेको,
(घ)  कानून बमोजिम लाग्ने दस्तुर वा कोर्ट फी दाखिल गरेको ।
(४) उपनियम (३) को खण्ड (घ) मा जुनसुकै कुरा लेखिएको भए तापनि लाग्ने दस्तुर वा कोर्ट फी छिनुवा मिसिल हेरे पछि मात्र यकिन हुन सक्नेमा त्यस्तो छिनुवा मिसिल प्राप्त भएपछि यकिन गरी दर्ता गर्ने गरी सम्बन्धित अधिकारीले पुनरावेदनपत्र धरौटीमा दर्ता गर्न सक्नेछ ।